कक्षाकोठा बाहिरको सिकाइ (Outdoor Learning)

– सुरेन्द्र ओझा

बाहिरी दुनियाँका बारेमा सिक्न बाहिर गएर नै सिक्नु पर्छ । हामी बाहिरका कति चिज भित्र कक्षाकोठामा लगेर  देखाएर  सिकाउन  सक्छौ र ? पौडी खेल्न सिक्न  पोखरीमा हाम नै फाल्नुपर्छ । रूख बिरूवाका बारेमा जान्न खेतबारी र जङ्गल मै जानुपर्छ । यात्राका कठिनाइ बुझ्न,अनुभव र मज्जा  लिन यात्रा नै गर्नुपर्छ । दुष्ट र सज्जन चिन्न मानिसहरूसँग व्यवहार  गर्नै पर्छ । सुरक्षित भएर बाँच्न सिक्न समाज,परिवेश र प्रकृतिसँग साक्षात्कार गर्नै पर्छ । व्यवसाय व्यापार बुझ्न व्यावसायिक र व्यापारिक माहौलमा काम गर्नै  पर्छ । खाना बनाउन सिक्न खाना बनाउनु नै  पर्छ । खेल खेल्न मैदान मै जानुपर्छ ।  नाच्न सिक्न नाच्नु नै पर्छ । बजाउन सिक्न बजाउनु नै पर्छ ।कठिनाइसँग जुध्न र सामाना गर्न सिक्न कठिनाइ झेल्नु नै पर्छ । कठिनाइ  र विघ्नबाधा जीवनमा आउँछन् नै । यी कठिनाइ  र विघ्नबाथासँग जुधेर सफल हुनका  लागि तयार गर्नु नै शिक्षण हो । सुख र दुः ख सिक्काका दुई पाटा जस्तै हुन । दुःखको झल्को देखेपछि नै  जीवन बुझिन्छ । सामाजिक रीतिरिवाज बुझ्न समाज मै अन्तरघुलन हुनुपर्छ। जीवनका भोगाइ  भोगेका र कठिनाइ सामना गरेका हामी शिक्षकले यस्ता कयौँ चिज  यसो गरौँ उसो गरौँ भनेर कक्षा कोठामै   पढाउने गरेका त छैनौँ ? हामीले गर्यौँ ,हामीले भोग्यौं । अब विद्यार्थीलाई  गर्न दिनु परेन ? यसमा मूल्याङ्कन र  प्रणालीको दोष त छ नै ! तर हामी शिक्षक हरूले पनि धेरै हदसम्म  सुधार ल्याउन सक्छौं  ।  उदाहरणका लागि  कक्षा तीन देखि नै  जीवनी छ नेपाली विषयका  पुस्तकहरूमा । अब शिक्षकले जीवनी पढाउँदा त्यो जीवनी मात्र पढाउनु भएन । अभ्यासमा भएका प्रश्न मात्रै गराउनु भएन । विद्यार्थीलाई  स्थानीय व्यक्तित्वहरूको घर परिवारमा गएर  सम्वन्थित व्यक्तिहरूका बारेमा सम्पूर्ण जानकारी आफैले  लिएर  जीवनी तयार गर्न लगाउनु पर्यो  । यसबाट  विद्यार्थीले नयाँ व्यक्तिको जीवनी लेख्न मात्रै सिक्दैन, काम गर्ने  क्रममा आउने कठिनाइ  र समस्यासँग जुध्न र व्यवहार  गर्न पनि सिक्छ । तर समस्या मूल्याङ्कनमा छ । परीक्षा त अक्सर पाठमा भएको जीवनीमा उल्लेख गरेका कुरा सोधेर नै  लिइन्छ । यो कुरा  नेपालमा लगभग सबै विद्यार्थी ,अभिभावक र शिक्षकलाई  थाहा छ । अनि न विद्यार्थी नयाँ  व्यक्तिको जीवनी तयार गर्न कसै कहाँ जान तयार हुन्छ  न अभिभावक पठाउन  न शिक्षक  नै यस्तो माहौल बनाउने झन्झट लिन तयार छ ।  सामाजिक शिक्षामा भएका ट्राफिक नियम सम्बन्धि पाठ सडकमै लगेर सिकाउनु पर्छ । स॔वाद पढाउँदा  तिमी A  अनि ऊ B , ल दुबै पाठमा भएको पढेर सुनाऊ भनेर मात्रै कति भन्ने  ? संवाद पढाउँदा नयाँ व्यक्तिसँग कुराकानी गरेर त्यो स॔वाद रेकर्ड  गरेर वा लेखेर कक्षाकोठामा ल्याउन  लगाउन आवश्यक छ । कुनै  पर्यटकीय स्थलको बारेमा पुस्तकमा पाठ छ भने त्यहीँ वा नजिकको कुनै  अन्य  पर्यटकीय  स्थल मै लगेर त्यसका वारेमा  आफै जानकारी संकलन गरेर लेख्न र भन्न लगाउनु पर्यो । सिर्जनात्मकता तर्फ उन्मुख गराउन  साहित्यिक  गोष्ठी र कार्यक्रम  आयोजना गर्नु र अरूले गरेका कार्यक्रममा सहभागी गराउनु पर्यो । सामाजिक शिक्षामा भएका  वडा ,गाउँ र नगर पालिकासम्बन्धि पाठ सिक्न सम्बन्धित ठाउँमा  विद्यार्थीलाई   लैजानु र आफैले सोधखोज गरेर बुझ्न सक्ने माहौल बनाइदिनु पर्यो । उद्योग, कलकारखाना ,म्युजियम ,धार्मिक स्थल , स्टेडियम, कृषि फर्म, उद्यान ,बगैँचा ,व्यापारिक मल, नदि,नाला ,शैक्षिक सँस्था ,प्रशासनिक भवन ,सुरक्षा दिने निकाय ,न्यायालय लगायतका ठाउँहरूमा विद्यार्थीलाई  लैजान र अध्ययन गर्न दिनु आवश्यक छ । आखिर यी सबै कुरा अहिलेको स्कुल  पाठ्यक्रम भित्र कै कुरा त हुन् । समस्या पाठ्यक्रममा भन्दा बढी मूल्याङ्कन , शिक्षण विधि र शैलीमा छ । समस्या हाम्रो परम्परागत  सोचमा छ । समस्या वदलिदो समय र परिस्थिति अनुसार चल्न आफूलाई परिमार्जित  गर्न

नसक्नुमा छ । यात्रामा लगेर  यात्रा अनुभव लेख्न र सुनाउन लगाउनु पर्यो । बोल्न सिक्न बोल्न  नै लगाउनु पर्छ । लेख्न सिक्न लेख्न नै लगाउनु पर्छ । पढ्न सिक्न पढ्ननै लगाउनु पर्छ ।  सुन्न सिक्न सुन्न नै लगाउनु पर्छ  । काम गर्न सिक्न काम नै गर्न दिनुपर्छ । जे सुकै  सिक्ने यही हो नियम ।  यो सिकाइको अकाट्य नियम हो । हामी कहीँ विद्यार्थीलाई  पाठमा भएका कुरा भट्याएर आठ घण्टी नलग्दासम्म  सुन्न मात्रै बाध्य पारिरहेका  त छैनौं ? कहिँ  हामी नीति निर्माता, मूल्याङ्कनकर्ता ,अभिभावक र  शिक्षक विद्यार्थीको सिर्जनात्मकताको तगारो त बनेका छैनौं ? यस विषयमा हामी सबै सरोकारवालाले सोच्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *