Login
Dashboard
बालबालिका राम्रो हून भनेर कसले नसोचेको होला र ! सबै सोच्छन् आफ्नो बालबालिका राम्रो बनून् भनेर । राम्रो बन्ने धेरै माथि गएर स्कुल ,कलेज, विश्वविद्यालयमा पढेर नै हो भन्ने अधिकांशको सोच भएको पाइन्छ । शिक्षक प्राध्यापकले नै हो राम्रो बनाउन सक्ने भन्ने पनि धेरैको सोच रहेको देखिन्छ । तर उनीहरूलाई राम्रो बनाउन हामी आफूले कति समय लगानी गरेका छौं त भन्ने विषयमा कतिपय अभिभावकले विचार नै गर्दैनन् । हामी हाम्रो बालबालिकासँग कति सँगै वस्यौँ, के कति काम उनीहरूसँगै मिलेर गर्यौं ,कति सँगै खेल्यौं, घरायसी र सामाजिक कार्यमा कति सँगै सहभागिता जनायौं , कति आत्मिक र आध्यात्मिक छलफल र वहस गर्यौ , कति ठाउँको सँगै भ्रमण गर्यौ , कति आफ्ना अनुभव एक अर्कासँग साटासाट गर्यौं ,आर्थिक कुराहरू बुझ्न घरव्यवहारका कुरामा उनीहरूलाई कति संलग्न गरायौं , कति अनुशासन, नैतिकता,सदाचार,नम्रता ,असल बानी र उत्कृष्ट नमूना जीवनशैली प्रस्तुत गर्यौं उनीहरूको अगाडि र समाजमा यस्ता विषय नै हाम्रा बालबालिकालाई असल बनाउने आधारभूत विषय हुन् । यस्ता पारिवारिक गतिविधिहरू बाट नै बालबालिकाले भविष्यको जीवनको स्पष्ट मार्गचित्र बनाउँन सक्छन् । अहिले पनि यी विषयहरूलाई वेवास्ता गर्ने र स्कुल कलेजबाट नै सबैथोक हुन्छ भन्ने अपेक्षा राख्ने धेरै अभिभावक भेटिन्छन् । स्कुल लेभलसम्म अभिभावकको शिक्षणसिकाइ प्रक्रियामा संलग्नता र जिम्मेवारी शिक्षकहरूको भन्दा बढी नै हुन्छ कम हुँदैन यो यथार्थ हो । अनौपचारिक वातावरणमा औपचारिक वातावरणमा भन्दा बढी सिकाइ हुन्छ । स्कुल कलेजमा पनि औपचारिक कक्षाहरूमा भन्दा स्कुल कलेजमा आयोजना हुने बिभिन्न कार्यक्रमहरूबाट विद्यार्थीहरूले बढी सिक्छन् ।
आज पनि कतिपय शिक्षकसँग बालबालिकाहरू डराएर प्रश्न सोध्न नसक्ने स्थिति स्कुलहरूमा विद्यमान रहे जस्तै घरमा पनि आमाबुबासँग डरले थुरथुर काँप्ने माहौल कतिपय घरपरिवारमा विद्यमान छ । यस्तोमा वास्तविक सिकाइ हुँदैन् । सिर्जनात्मकताको त कल्पना पनि गर्न सकिदैन । घोकाएर परीक्षामा राम्रो अंक ल्याउन कहिलेकाहीँ हप्काइ डाटफटकारले सहयोग गरेको जस्तो लाग्छ तर वास्तविक सिर्जनात्मक सिकाइ भइरहेको हुँदैन। हप्काइ र डरको वातावरणमा सिर्जनात्मकता मरेर जान्छ । नजानेको कुरा सोध्न डर लाग्छ। उस्तै पनि कतिपय शिक्षक र अभिवाभावकले सोध्यो भने कति करकर गर्छ ,सोध्यासोध्यै गर्छ भनेर भनिरहन्छन् । यस्ता कुराले उस्को जिज्ञासु स्वभाव दव्दै जान्छ। नयाँ कुराको खोजी गर्ने बानी कमजोर बन्दै जान्छ । अरूले सिकाएको मात्रै सिक्ने प्रवॄति वढ्दै जान्छ । खोज र सिर्जना उसको पकड भन्दा बाहिर जान्छ । जुन वास्तविक सिकाइका आधारस्तम्भ हुन् । पिटेर आखिर कसैले कसैलाई विद्वान बनाउन सकेको उदाहरण पनि त भेटिदैन समाजमा । बरू बदमास बिद्रोही बनेका उदाहरण चाहि प्रसस्त भेटिएलान समाजमा । तसर्थ शिक्षण सिकाइका लागि सकारात्मक माहौल बनाउन, संस्कार , सीप र व्यवहार सिकाउन ,जीवन्त सम्बन्ध र सामाजिक नेटवर्क निर्माण गर्नमा अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।
Surendra Raj Ojha