Login
Dashboard
~ देवी जोशी (माध्यमिक तह; इन्चार्ज )
हाम्रो समाजको सामाजिक संरचना बहुरुपी छ।यस्तो बहुरुपी समाजमा हरेकको बोलिचाली , रहनसहन,चालचलन, खानपान जस्ता कुरामा पनि एकरुपता छैन ।व्यावहारिक कुरामा विभिन्नता भएका कारण विद्यालयमा पनि फरक स्वभाव, आचरण भएका बालबालिका आउँछन्। एकातिर घरायसी बानीव्यहोरा अर्कातिर विद्यालय- को फरक परिवेशमा समावेश हुनुपर्ने बाध्यता यसका कारण विद्यार्थी, विद्यालय, शिक्षक तथा अभिभावक सामु विभिन्न समस्या सिर्जना हुन्छन् ।
एकातिर सामाजिक संरचनाका कारण सिर्जित समस्या अर्कातिर अभिभावकको व्यस्तता त परिवर्तित समयको असर अनि वैज्ञानिक आविष्कारका कारण निम्तिएको समस्याले हामी सबै चिन्तित छौँ।
यसो भन्दैमा हामीले समस्या समाधान नै गर्न नसक्ने भन्ने त पक्कै होइन।हाम्रा छोराछोरी कस्ता बनाउने भन्ने बारेमा हामी स्वयं नै सचेत हुनु जरुरी हुन्छ ।बदलिदो समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तन र व्यस्तताका कारण हामी आफ्ना बालबालिकालाई समय दिन सकिरहेका छैनौॅ ।उनीहरूको रेखदेख ,खानपान, शिक्षादिक्षा जस्ता कुराको जिम्मेवारी या त अरु नै कसैको या विद्यालयको भरमा छोडेका हुन्छौं। कतिपय घरमा त छोराछोरी र आमाबाबुको भेट सम्म नहुने स्थिति पनि हामीले देखेका छौँ। बिहान छोराछोरी सुतेकै अवस्थामा छोडेर गएका आमाबाबु राति छोराछोरी सुतिसकेपछि घर फर्किन्छन् अनि कसरी छोराछोरी असल संस्कार र राम्रो शिक्षा हासिल गर्न सक्छन् ।घरायसी परिवेश अनुसारको संस्कार बालबालिकामा विकसित हुने भएकाले संस्कार घरबाटै सिकिन्छ। आफ्नो व्यस्तताका बाबजुद पनि केही समय हामीले बालबालिकाका लागि छुट्याउनु पर्छ ।विद्यार्थी विद्यालयमा ६ घण्टा र परिवारसँग १८ घण्टा समय बिताउँछन्। विद्यालयको एक घण्टी अर्थात्४०|४५ मिनेटको समयमा शिक्षकले प्रति विद्यार्थी व्यक्तिगत रुपमा एक मिनेट समय दिन सक्दैन ।त्यसैले विद्यार्थी कस्तो समस्यासँग जुधिरहेको छ भन्ने कुरा थाहा नहुॅदा पनि विद्यार्थीलाई उचित सल्लाह सुझाव दिन सकिरहेको हुँदैन। यसो हुँदा बालबालिका झन एक्लो महसुस गर्ने र निराश हुने गर्दछन्।त्यसैले हामीले शुल्क तिरेर हाम्रा छोराछोरी विद्यालय पठाएका छौँ भन्ने भ्रममा नपरी बालबालिकाको विद्यालय आउने जाने समयबाहेक कहाँ, कोसँग किन जान्छन्?भन्ने कुराको हेक्का हामीले राख्नैपर्छ ।यसो गर्न सकेको खण्डमा हामीले केही हदसम्म भएपनि बालबालिकालाई उचित मार्गदर्शन गर्न सक्छौँ। बालबालिका भनेका गिलो माटो जस्तै हुन् गिलो माटोलाई हामीले आफूले चाहे अनुसारको आकारमा ढाल्न सक्छौँ।
यसो भन्दै गर्दा विद्यालय पनि विद्यार्थीप्रति त्यतिकै जिम्मेवार हुनुपर्छ। विद्यालयमा पनि असल आचरण भएका ,दुर्व्यसनको लत नभएका ,विद्यार्थीप्रति अभिभावकत्वको भावना भएका शिक्षक हुनु जरुरी हुन्छ। शिक्षक पनि विद्यार्थीको अभिभावक भएकाले सदा सत्मार्ग नै निर्देशित गर्नु उसको दायित्व हुन्छ।