सिकाइ र संस्कार

मेरो बाबा पेसाले  पुरोहित हुनुहुन्थ्यो  । एकै दिनमा कयौँ घरमा पूजापाठ   गर्नु हुन्थ्यो। बुवाले गर्ने गरेको  स्वस्तिवाचन खुब मज्जाले सुन्थे म  । बुवाको आवाज बुलन्द  थियो । लाग्थ्यो बुवाले जस्तै स्वस्तिवाचन गर्न सके कस्तो राम्रो हुन्थ्यो होला! त्यो मधूर आवाजले मात्रै पनि खुब मज्जा लाग्थ्यो।  मैले बुवाबाट  कयौं श्लोकहरू सुनेको थिए । तर अर्थ जान्ने र बुझ्ने  त्यति चेष्टा गरिएन त्यो बेला। विज्ञान र अङ्ग्रेजीमै खुव रस वस्यो । संस्कार , चरित्र र सार्थक जीवन सम्बन्धी अमूल्य ज्ञानको खजाना संस्कृतमा रहेछ । संस्काररूपी रत्नले जडित रहेछन् संस्कृतका श्लोकहरू । संस्कार  विना सबथोक मिथ्या रहेछ । अनायास पनि कति धेरै कुरा सिकिएको रहेछ । अहिले आएर त्यो बेलाको परिवेश र सिकाइको सम्झना भइरहन्छ । 

               बुवाको करिब ७०देखि ८५ वर्षको बीचको स्वस्थ र सन्तुलित जीवनचर्या उदाहरणीय र अनुकरणीय रह्यो । ८५ वर्षसम्म पनि बुवा एकदमै  टिपटप रहनु हुन्थ्यो । अध्ययनमा व्यस्त ,भ्रमण , दैनिक पूजापाठ र भक्ति उहाँका नियमित कर्म जस्तै थिए । कुनै पनि प्रसंगमा प्रसंग सुहाउँदो संस्कृतको श्लोक भनेर कुरा बुझाउने बुवाको बेजोड शैली थियो ।  त्यो बेला कयौं श्लोकहरू सुनेको हुनाले अहिले मेरो  अर्थ बुझ्नमा र त्यसको दैनिक जीवनमा प्रयोग गर्नमा ध्यान केन्द्रित  छ । सुनेर मात्र पनि म मा कति परिवर्तन  आएको रहेछ । अहिले बुझ्दैछु । अर्थ बुझ्ने र दैनिक जीवन संस्कृतका कालजयी र रूपान्तरणकारी श्लोकहरू अनुसार जिउने थोर बहुत कोशिस  गर्दैछु ।   मेरो बुवाले वाचन गरेको स्वस्ति वाचनको अंशका केही लाइन अहिले पनि मेरो कानमा गुञ्जीरहन्छन् । ऊँ भद्रं कर्णेभि: शृणुयाम देवा: भद्रं पश्येमाक्ष भिर्यजत्रा: स्थिरैरङ्गै तुष्टुवागूं सस्तनूभि: वशेम देवहितं यदायु: यसको अर्थ  बुझे पछि लाग्यो उहिलै अर्थ बुझेको भए जीवन अर्कै हुन्थ्यो । कानले  शुभकुरा मात्र सुन्ने कोसिस उहिले देखि हुन्थ्यो । आँखाले शुभकुरा मात्र हेर्ने अभ्यास  वर्षौको हुन्थ्यो।  अहिले जुन अवस्थामा पुगियो त्यहाँ उहिले पुगीसकेको हुन्थे । आँखाले कति सही र शुभ कुरा हेर्न मानेन । कानले सही र शुभ सुन्न चाहेन । अहिले कान र आँखा केही हदसम्म आज्ञाकारी भएकाछन् । अब विद्यार्थीका कान र आँखा आज्ञाकारी बनाउने संस्कारयुक्त शिक्षा दिदैछु । संस्कार भित्रिने  द्वार हुन्  कान र आँखा । वस समस्या कान र आँखामै छ । यी दुई नै संस्कारका  द्वार हुन् । जुन दिनदेखि मानिसहरु  शुभकुरा सुन्ने छन् र आँखाहरू शुभकुरा हेर्ने छन् ।समाजमा चारैतर्फ संस्कारी मानिसमात्रै भेटिनेछन्  र समाज स्वर्गझैं  हुनेछ ।

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *